कंगोको जेलमा आक्रमणः ११ जनाको मृत्यु, ९ सय कैदी भागे

जेठ २९ – बन्दुकधारीले प्रजातान्त्रिक गणतन्त्र कंगोको एक जेलमा आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ भने ९ सय भन्दा बढी कैदी बन्दी जेलबाट भागेका छन् ।

कंगोको उत्तरी क्षेत्रको किवु प्रान्तको एक जेलमा बन्दुकधारीले आक्रमणगरी कैदीबन्दीलाई भगाएको सरकारी अधिकारीले बताएका छन् । बेनीमा रहेको जेलमा आक्रमणका लागि आक्रमणकारीले ठूला हतियार प्रयोग गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका मध्ये कम्तिमा ८ जना जेलको सुरक्षाका लागि खटिएका गार्ड रहेका छन् । आक्रमण कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।

कंगोमा जेल तोडेर कैदीबन्दी भाग्ने घटना बढी हुने गरेका छन् । गएको महिना राजधानी किनशासामा रहेको जेलबाट झण्डै चार हजार कैदीबन्दी भागेका थिए ।