लण्डन आक्रमण : १२ जना पक्राउ

जेष्ठ २२-
बेलायतको लण्डनमा भएको आक्रमणपछि स्थानीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा शनिबार राति भएको आक्रमणमा सात जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका छन् । घाइते मध्ये ३६ जनाको अस्पतलामा उपचार भइरहेको छ भने २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ । तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको र भ्यानमा आएका व्यक्तिले प्रहरी तथा सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीको क्रममा आक्रमणकारी मारिएका छन् । प्रहरीले ५० राउण्ड गोली चलाएको थियो । आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा एवम् भत्सर्ना गरेका छन् ।