तीन महानगरमा एमाले र एकमा कांग्रेसको अग्रता

बुटवल, जेठ ४-
स्थानीय तहको निर्वाचनमा चार महानगरपालिकामा एमाले र कांग्रेसले अग्रता लिएका छन्। एमालेले सवैभन्दा ठूलो महानगर पोखरा लेखनाथ, काठमाडौं र भरतपुर महानगरपालिकामा अग्रता लिएको छ। नेपाली काँग्रेसले ललितपुर महानगरपालिकामा अग्रता लिएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्या सुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्की श्रेष्ठले अग्रता लिनु भएको छ।
यो समाचार तयार पार्दासम्म एमालेका मेयरका उम्मेदवार शाक्यले ४ हजार ३ सय ५५ मत पाउनु भएको छ भने कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले २ हजार ८ सय १२ मतका साथ एमालेका शाक्यलाई पछ्याइरहनु भएको छ ।
यस्तै विविकशील पार्टीकी रञ्जु दर्शनाले १ हजार ८ सय ७७ मत पाउनु भएको छ भने साझा पार्टीका किशोर थापाले १ हजार २ सय २६ मत पाउनु भएको छ।  नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोल ४ सय ९४ मत प्राप्त गर्नु भएको छ।
उता, ललितपुरमा भने नेपाली कांग्रेसको अग्रता लिएको छ। कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जन एमालेका हरिकृष्ण ब्यन्जनकारलाई पछि पार्दै अग्रता लिनु भएको हो। कांग्रेसका चिरीबाबुले ९ हजार ४ सय ३२ मत प्राप्त गर्नु भएको छ भने एमालेका ब्यञ्जनकारले ९ हजार २ सय ७८ मत पाउनु भएको छ। यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार गीता सत्यालले अग्रता लिइरहनु भएको छ। सत्यालले ६ हजार १ सय ६२ मत प्राप्त गर्नु भएको छ भने साझा पार्टीकी शोभा शाक्यले ३ हजार ८ सय ८२ मत पाउनु भएको छ।
यस्तै भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । एमालेका देवी ज्ञवालीले ६ हजार ८ सय मतका साथ अग्रता लिइरहनु भएको छ। कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नु भएकी रेणु दाहालले ५ हजार ८९ मतका साथ एमालेका ज्ञवालीलाई पछ्याइरहनु भएको छ । भरतपुर महानगरपालिकाको उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले ५ हजार ९ सय ५५ मतका साथ अग्रता लिइरहनु भएको छ भने एमालेकी उम्मेदवार दिव्या शर्माले ५ हजार ७ सय २९ मत पाउनु भएको छ।
यसैगरी,  पोखरामा पनि नेकपा एमालेले नै अग्रता लिएको छ। एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले ९ हजार २ सय १७ मतका साथ अग्रता लिइरहनु भएको छ। कांग्रेस–माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार बनेका रामजी कुँवरले ८ हजार ९ सय ३१ मतका साथ एमालेका उम्मेदवार जिसीलाई पछ्याइरहनु भएको छ । उपमेयरमा पनि एमालेकै उम्मेदवार अगाडि रहनु भएको छ। एमालेकी मन्जु गुरुङले ९ हजार १ सय ३७  मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सरस्वती गुरुङले ७ हजार ८ सय ६५ मत पाउनु भएको छ।

यता–तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  पछिल्लो मत गणना सम्पन्न भएका १५९ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ६६  स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ६३  स्थानमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्र  २५ स्थानमा विजयी हुँदा राप्रपा र नयाँ शक्ति फोरम नेपाल गठबन्धन एक –एक तथा ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेका जिल्लाहरुमा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।