अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा

news

जेठ ३-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारमाथिको अनुसन्धान रोक्न गर्न एफबीआइलाई निर्देशन दिएको भन्ने आरोपहरुलाई लिएर विवादमा मुछिएका छन् ।
पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र रुसबीचको सम्बन्धबारेको अनुसन्धान रोक्न संघीय जाँच निकाय एफबीआइलाई निर्देशन दिएको भन्ने विवरण बाहिर आएपछि राष्ट्रपति ट्रम्पले विवादमा मुछिएका हुन् ।
गत फेब्रुअरीमा राष्ट्रपतिलाई भेटेपछि एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले लेखेको भनिएको एउटा मेमोका आधारमा ती विवरण प्रकाशमा आएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
फ्लिनले रुसी राजदूतसँगको आफ्नो संवादबारे उपराष्ट्रपतिलाई गलत सूचना दिएको घटना प्रकाशमा आएपछि फ्लिनले गत फेब्रुअरीमा पदबाट राजीनामा दिएका थिए ।
तर, अमेरिकी सञ्चारमाध्यमहरुमा त्यस्ता आरोपहरु आएपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ती विवरण सही नभएको भन्दै अस्वीकार गरेको छ ।