नेपालको हस्पिटालिटी बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित

बुटवल, बैशाख २४-
 नेपालको हस्पिटालिटी (होटेल/ रेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेलररेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव आएको हो । उद्योग विभागका अनुसार ९६ होटेलररेस्टुराँमा विभिन्न मुलुकको झण्डै पाँच अर्ब रुपैयाँ विदेशी लगानी हुनेछ । यसमा चिनियाँ लगानीको हिस्सा चार अर्बभन्दा बढी छ । चीनबाट दुईवटा तारे होटेलमा मात्र तीन अर्ब लगानीको प्रस्ताव आएको छ ।
कतिपय होटेलमा शत्प्रतिशत विदेशी लगानी आउँदैछ भने कतिपय होटेलमा नेपालीको पनि लगानी हुनेछ । ९६ होटेलमा नेपालीको ५५ करोडको हाराहारीमा लगानी रहने विभागको तथ्यांकले देखाउँछ । नेपालको पर्यटन क्षेत्रमा भित्रिने अधिकांश लगानी होटेलमा केन्द्रित देखिन्छ । चीनको स्वशासित क्षेत्र हङकङको वाइस पिस डेभलपमेन्ट कम्पनीले काठमाडौंमा लक्जरी होटेल खोल्ने प्रस्ताव गरेको छ । वाल्डो डाइनेस्टी नामक होटेलमा दुई अर्ब रुपैयाँ विदेशी लगानी हुनेछ । शत्प्रतिशत विदेशी लगानी रहने होटेलमा तीन सयवटा कोठा र दुई १० जना अटाउने रेस्टुरेन्ट हुनेछन् । यो होटेलले एक सय ३३ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।