इन्टरनेशनल कर्पोरेट ब्याड्मिन्टन प्रतियोगिता’ को छनोट चरणको खेल भोली देखि बुटवलमा शुरु

बुटवल बैशाख १६

 अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याड्मिन्टन प्रतियोगिता’ को छनोट चरणको खेल भोली देखि बुटवलमा शुरु हुदैछ ।

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतबारदेखि बुटवलको माझगाउ स्थित नवदीप कभर्ड हलमा प्रतियोगिता हुदैछ । प्रतियोगितामा लुम्बिनी अञ्चलका झण्डै एक सय खेलाडीको सहभागिता रहने अन्नपूर्ण पोष्टका क्षेत्रीय संयोजक मनोज वस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिता भोली विहान ८ बजेदेखि शुरु हुनेछ । यसवर्षको छनोट चरणको खेल धनगढीबाट शुरु भएको हो ।
प्रतियोगितामा सहभागी हुन गुल्मी, अर्घाखाची, पाल्पा, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका खेलाडीहरुले नाम दर्ता गराएका छन् । भोली बाट शुरु हुने प्रतियोगिता मंगलवारसम्म जारी रहनेछ । बुटवलसंगै नेपालगञ्जमा पनि भोली बाट प्रतियोगिता शुरु हुदैछ । त्यसपछि छनौट चरणको खेल पोखरामा वैशाख २१ देखि २३ गतेसम्म र इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म क्षेत्रीय प्रतियोगिता सञ्चालन हुनेछन् ।  

क्षेत्रीय स्तरको प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा आयोजना हुने ‘अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याड्मिन्टन प्रतियोगिता’ मा सहभागिता जनाउने अवसर पाउनेछन् ।

अन्नपूर्ण मिडिया नेटवर्कले यसअघि तीनवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पाँचवटै विकास क्षेत्रमा प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो । काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुलासँगै कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिनेछ ।

नेपाल ब्याड्मिन्टन संघको सहकार्यमा काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न देशका चर्चित खेलाडीको समेत सहभागिता रहने बताइएको छ । प्रत्येक
क्षेत्रबाट अन्तिम दुईमा पर्ने खेलाडीले काठमाण्डौंको प्रतियोगितामा जादा आवासीय सुविधान पाउनेछन् ।