नेपाल राष्ट्र बैंकले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धि हुने

बुटवल बैशाख१५
नेपाल राष्ट्र बैंकले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन सके नेपालमा उच्च र दीगो आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।  

बैैैंकले आफ्नो ६२ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रम गरी चालू आर्थिक वर्षलाई आर्थिक पुनरुत्थान वर्षको रुपमा पनि चित्रण गरेको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कृषि उत्पादनमा वृद्धि हुनु, उर्जा आपूर्तिमा सुधार आउनु, आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्नु नेपालको उच्च तथा दीगो आर्थिक विकासको परिसूचक भएको स्पष्ट पार्नु भयो ।

उहाँले उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि नेपालमा संरचनागत सुधार र लगानी मैत्री वातावरणको निर्माण भने गर्नुपर्ने सर्त पनि अघि सार्नुभयो । चालू आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हासिक गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले त्यसका लागि लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याएको छ ।

बैंकले समग्र वित्तिय क्षेत्रको दिर्घकालीन विकासका लागि वित्तिय क्षेत्र विकास रणनीति तय गरिएको पनि स्पष्ट पारेको छ । कर्जा प्रवाह अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह ८० प्रतिशत पु¥याउने नीति लिएको पनि स्पष्ट पारिएको छ । बैंकले नेपाल सरकारको २ सय ३३ अरव ५९ करोड नगद मौज्दात रहेको पनि जनाएको छ ।