सरकारले दैनिक सवा ३ अर्ब खर्चिनु पर्ने

बुटवल, बैशाख १०-चालू आर्थिक वर्षको दशौं महिनासम्म पुँजीगत खर्च सुस्त भएपछि सरकाले यस वर्षको लक्ष्य भेट्टाउन दैनिक सवा तीन अर्ब खर्चनुपर्ने देखिएको छ । चालू आव सकिन २ महिना २० दिन मात्र बाँकी रहँदा सरकारको पुँजीगत खर्च जम्मा २६।९९ प्रतिशत मात्रै छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार शुक्रबारसम्म ८४ अर्ब १८ करोड मात्रै खर्च भएको छ । सरकारले चालू आवका लागि ३ खर्ब ११ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । विकास निर्माणका कार्यक्रमहरूले गति लिन नसक्दा आर्थिक वर्ष सुरु हुनु डेढ महिना अगावै बजेट आए पनि खर्चको अवस्थामा भने सुधार आएन ।

सरकारले जेठ १५ गते नै चालू आर्थिक वर्षको लागि १० खर्ब ४८ अर्ब रूपैयाँको बजेट ल्याएको थियो । खर्चको आकार बढ्न नसकेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले पटकपटक विकासे मन्त्रालयहरूलाई बोलाएर खर्च बढाउन निर्देशन दिँदै आएका छन् ।