कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने तयारी

बुटवल, बैशाख ५- सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने तयारी सुरु गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचा अनुसार आर्थिक नीति बनाउने तयारी भइरहेको बताउनु भएको छ । उहाँले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि नयाँ आर्थिक नीति आवश्यक परेको पनि स्पष्ट पार्नु भयो ।

अर्थ मन्त्रालयले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य प्राप्तीलाई आधार बनाएर नयाँ आर्थिक नीति तय गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ । यसै सन्दर्भमा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले मुलुकलाई समृद्ध बनाउने संकल्प अनुसार आर्थिक नीति बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पुरानै ढाँचाको आर्थिक नीतिले मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री महराले तीन वटै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने पनि स्मरण गराउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव शान्तराज सुवेदीले दिगो र फराकिलो आर्थिक वृद्धिका लागि पनि नयाँ आर्थिक नीति तय गर्नु परेको स्पष्ट पार्नु भयो । उहाँले नयाँ आर्थिक नीतिले कृषिलाई पहिलो प्राथमिकतामा राख्ने पनि स्पष्ट पार्नु भयो ।

नयाँ आर्थिक नीतिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने नीतिलाई उच्च प्राथमिकता दिने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पूँजीगत खर्च बढाउने क्षमताको विकास गर्न अर्थ मन्त्रालयलाई सुझाव पनि दिनु भयो । उहाँले पूँजीगत खर्च गर्न नसक्ने निकायलाई दण्ड गर्ने कानूनी व्यवस्था गर्न पनि सुझाव दिनु भयो ।