समानुपातिकमा कांग्रेसलाई राहात : ४० सिट पाउने

news

बुटवल-
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउने भएको छ । जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वा्चित हुनुपर्छ । कांग्रेसको प्रत्यक्षबाट एकजना पनि महिला नजितेकाले संविधानअनुसार समानुपातिकबाट मात्र एक तिहाइ पुर्‍याउनुपर्ने बाध्यता छ । समग्रमा कम सिट जितेकोले कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।
एमालेले समानुपातिकबाट ३ जना र माओवादीले केन्द्रले २ जना मात्र पुरुष निर्वा्चित गर्न पाउनेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वा्चित गर्दा क्रमसंख्या अनुसार नै निर्वा्चित गर्नुपर्छ ।
त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेशी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।