तिलोत्तमा नगरमा छाडा चौपाया नियन्त्रण अभियान

news

तिलोत्तमा-

तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली, सडक हरियाली, वन–जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
गौशाला सञ्चालनमा रहे पनि छाडा चौपायालाई त्यहाँसम्म पु¥याउन समस्या भैरहेको बेला नगरपालिकामा बुधबारबाट छाडा चौपाया नियन्त्रण अभियान सुरु गरिएको हो । शंकरनगर र करहिया सामुदायिक वनको चार विगाहा क्षेत्रफलमा गौशाला सञ्चालनमा रहेको छ ।
छाडा चौपायालाई गौशालासम्म पुर्याउन नगरपालिका र गौशाला व्यवस्थापन समितिको सहकार्यमा नगर क्षेत्रमा छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरिएको हो । नगर प्रमुख घिमिरेले यो अभियान तीव्रताका साथ सञ्चालन गरिने बताउँदै अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नगरबासीमा आग्रह गरे ।
अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न युवा क्लवलगायत स्थानीय बासिन्दाहरुको सहभागिता छ । बुधबार मणिग्राम क्षेत्रबाट ३८ वटा छाडा चौपायालाई नियन्त्रणमा लिइएको गौशाला व्यवस्थापन समितिका सचिव खिमलाल पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका चौपायालाई गौशालामा पुर्याइने उनले बताए ।
यसैबीच तिलोत्तमा नगरपालिकाले पालिएका गाईबस्तु छाडा रुपमा नछाड्न सम्पूर्ण पशुपालक किसानहरुलाई अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधलाई वेवास्ता गरी गाईबस्तुलाई सडक वा वनमा छोडेको पाइएमा प्रचलित कानुनअनुसार  कारवाही हुने छाडा चौपाया नियन्त्रण अभियानका संयोजक कृष्ण पौडेलले बताए । नगरपालिकाले पालिएका चौपायाको बीमा गराउन पशुपालक किसानहरुको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले  तिलोत्तमामा पशुको बीमा गर्दा लाग्ने शुल्कको आधा रकम व्यहोर्ने नीति लिइएकाले यसबाट समेत थप लाभ उठाउन सम्पूर्ण किसानहरुलाई आग्रह गरे ।