सोमवार मध्य रात देखि मौन अवधि

बुटवल/
सोमवार मध्य रात देखि मौन अवधि सुरु हुदैछ । मौन अवधि सुरु हुनु अघि आज उम्मेद्वारहरु तथा  राजनीतिक दलहरूले अन्तिम प्रचार गर्दै छन् । दलहरुले आज मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । आज मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन् । यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन् । देउवा आज दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिनुभयो।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली आज बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल भने चुनाव प्रचारको अन्तिम दिन पनि चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन् ।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्रको कोटेश्वरमा चुनावी सभाको कार्यक्रममा सहभागि हुनुहुनेछ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन् । कांग्रेसले तनहुँको दमौलीमा सोमबार चुनावीसभा आयोजना गरेको छ ।
यस क्षेत्रमा पनि राजनीतिक दलहरुले आज अन्तिम प्रचार प्रसार गदैछन् । नेपाली काग्रेसले आज रुपन्देहीका ३ स्थानमा चुनावी सभा गर्दै छ  ।
बुटवलको ट्राफिकचोक, दक्षिण मर्चवारको मझगावा र भैरहवाको बुद्धचोकमा चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खांणले जानकारी दिनुभयो ।
तीन वटै सभामा नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खांण,केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत, केन्द्रिय सदस्य तथा पूर्व मन्त्री चित्रलेखा यादब, महिला नेतृ पुष्पा भुसाल,अर्का केन्द्रिय सदस्य उमादेबी जैशी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै
नेकपा एमाले र माओवादी गठबन्धनले पनि आज राजमार्ग चौराहामा चुनावी सभा गर्दै छ । गोलपार्क देखि चौराहा सम्म युवा ¥याली सहित सभा गरिने एमाले रुपन्देहीका प्रचार प्रमुख तेजेन्द्र केसीले जनाकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चा रुपन्देहीले बनकट्टामा चुनावी सभा गर्दै छ ।