ब्यापार प्रवद्र्धनमा सरकारी नीति नै वाधक

news

भैरहवा, ५ मंसिर । उद्योगी व्यवसायीहरुले सरकारका अव्यवहारिक, झन्झटिला र व्यवसायीमैत्री नीतिको अभावमा ब्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । साथै उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीतिहरु ज्यादै झन्झटिला र व्यवसायमैत्री नभएकाले व्यवसायीको हितमा बनाउनुपर्ने माग समेत गरेका छन् ।
 
उद्योग ब्यापार संगठन रुपन्देहीले भैरहवाको अञ्चलपुरमा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक ब्यापार मेलाका सन्दर्भमा आयोजना गरेको ब्यापार सम्बन्धी अन्तरक्रियामा सरोकारवालाले यस्तो माग गरेका हुन् । सो कार्यक्रममा बोल्दै वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले दर्ता,नवीकरण र जरिवाना सम्बन्धी सरकारी नीति नियममा रहेका अव्यवहारिक नीति र झमेलाले व्यवसायीहरु निरुत्साहित हुने गरेको स्वीकार्दै कमीकमजोरीहरु सच्याउन जरुरी रहेको बताए । उनले भारतसंगको खुला सीमाका कारण पनि ठूलो परिमाणमा सामानहरु पुजाआजा, विवाह आदि घरायसी प्रयोजनका नाममा विना भन्सार भित्रिने गर्दा स्वदेशी व्यवसायीहरु सधैं मारमा परेको बताउंदै खुला सिमा व्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिए ।
 
कैयौं सामानहरु भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो र गुणस्तरीय हुंदा हुंदै उपभोक्ताहरु भ्रममा परेर सीमा पारी गएर खरिद गर्ने परिपाटी रहेकाले यस्तो परिपाटीको अन्त्यका लागि प्रभावकारी नीति बनाउनुपर्ने खांचो औंल्याए ।  नेपालमा सस्तो पाइने सामानहरु भारतीय बजारमा गएर खरिद गर्ने परिपाटी रोक्न नीजि क्षेत्र र सरकारी निकायले आम उपभोक्तामा जनचेतना फैलाउन पनि आवश्यक रहेको उपाध्यायले औंल्याए ।
 
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले गौतमबुद्ध विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकाका कारण  भैरहवा क्षेत्र ब्यापारिक केन्द्र बन्न सक्ने आधारहरु रहेपनि सरकारी नीति व्यवसायीमैत्री नहुंदा व्यवसाय फस्टाउन नसकेको गुनासो गरे ।
 
ब्यापार प्रवद्र्धन र व्यवसायीको उत्थान गर्ने खालका राज्यका नीति नियमहरु नभएको गुनासो गर्दै व्यवसायीमैत्री नीति बनाउन उनले माग गरे ।
 
उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले खुला सिमा, भन्सार र वाणिज्य नीतिमा रहेका असहजता,कमी–कमजोरी आदिका कारण स्थानीय व्यवसायीहरु मारमा परेको र सीमापारीको बजार सधै गुल्जार हुने गरेको गुनासो गरे ।
 
चिनी लगायत एकाध वस्तु सस्तो पाइने लोभमा नेपाली उपभोक्ताहरु ठूलो संख्यामा सिमा पारी गएर नेपालमै सस्तो पाइने दर्जनौं वस्तुहरु खरिद गरेर ल्याउने परिपाटी रोक्न सरकारले वाध्यकारी नीति बनाउनुपर्ने र संक्षिप्त प्रज्ञापनपत्रलाई कडाईका साथ लागु गर्नुपर्ने खांचो उनले औंैल्याए ।
 
सरकारले स्वदेशी उत्पादन र स्थानीय बजारको प्रवद्र्धन गर्ने नीति नियम बनाउनुपर्ने माग गर्दै अध्यक्ष भण्डारीले आफ्नो संगठनको मूल उद्देश्य नै स्वाधीन अर्थतन्त्र निर्माण, स्थानीय बजारको प्रवद्र्धन र ब्यापार विविधिकरण रहेको प्रष्ट पारे । 
 
ब्यापार,कृषि,उद्योग र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित संगठनले एक वर्ष बिराएर राष्ट्रियस्तरको औद्योगिक ब्यापार मेला,कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने गरेको उल्लेख गर्दै उनले सरकारले स्थायी मेलास्थल उपलब्ध गराउनुपर्ने माग गरे ।
 
संगठनका उपाध्यक्ष गिरिश त्रिपाठीले व्यवसायीमाथि लगाइने जरिवाना रकम व्यवसायीको ढाड सेक्ने खालको चर्को भएकाले घटाउन र अनुगमनका नाममा अनावश्यक दुख नदिन माग गरे । उनले बैंकहरुले लिने चर्को ब्याजदर पनि एक प्रकारको कालो बजारी नै भएकाले उद्योग व्यवसायमा सुलभ दरमा कर्जा दिन माग गरे ।
 
संगठनका सचिव दर्पण श्रेष्ठले बजार अनुगमनलाई वर्षभरि नै निरन्तरता दिन आग्रह गर्दै यसले उपभोक्ता  ठगिनबाट जोगिने र व्यवसायमा शुद्धता आउने धारणा राखे ।
 
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री,मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठ, कार्यक्रम संयोजक टिकाराम भट्टराई,संगठनका महासचिव अनिल ज्ञवाली, सदस्य लक्ष्मण भण्डारी,रविशंकर वर्मा लगायतले आआफ्ना धारणा राखेका थिए ।
 
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधकरण नारासहित उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा संचालित चौथो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा ब्यापार, उद्योग, कृषि र पर्यटनका करिब चार सय स्टल रहेका छन् । मंसिर ११ गतेसम्म चल्ने मेलामा लोपोन्मुख राउटे जाति,उट नाच, कुस्ती खेल, नयां उत्पादन, प्रविधि,बाल उद्यान,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,कृषि प्याभिलियन,अटोमोबाइल्स प्याभिलियन, सूचना प्रविधि प्याभिलियन  आदि आकर्षणको रुपमा रहेका छन् ।