महिला हिंसा विरुद्धको १६ दिने अभियान बुटवलमा

बुटवल, मंसिर ४-
महिला हिंसा विरुद्धको १६ दिने अभियान बुटवलमा विभिन्न कार्यक्रमसहित मनाइने भएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा आज यहाका संघसस्थासहित भएको बैठकले यस्तो निर्णय गरेको हो । अभियानभर सञ्चार तथा समूह वकालत र चेतनाप्रवाहका कार्यक्रम गरी मनाउने निर्णय भएको उपमेयर गोमा आचार्यले बताउनुभयो । जसअनुसार अभियान सुरु हुने दिन कात्तिक ९ गते सरोकारवालासित लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया गरिने छ । अभियानभर लैगिक हिंसा विरुद्ध गठन भएका संघसस्थाले दैनिकरुपमा अभिमुखीकरण, छलफल, गोष्ठी, सरकारी तथा सामुदायीक कार्यालय महिला मैत्री भएनभएकोबारेमा अनुगमन गर्ने कार्यक्रम तय भएको छ । लैंगिक हिंसा विरुद्धको कार्यदलका संयोजक तथा उपमेयर गोमा आचार्यको अध्यक्षतामा बसेको बैठकमा कार्यदलका सदस्यसहित बुटवलमा क्रियाशिल लैंगिक हिंसा विरुद्ध गठन भएका संघसस्थाको सहभागिता रहेको थियो । बैठकमा सहभागी रेडियो मुक्ति , सञ्चारिका समूह, कददम नेपाल, सेतो गुरास बालविकास केन्द्र, महिला पैरवी मञ्च, दलित महिला संघ , अपांग महासंघ, इनसेक, इन्द्रेणी ग्रामिण विकास केन्द्र लगायतले नगरपालिकाको समन्वयमा अभियानलाई सफल बनाउन आफूहरुले तय गरेका कार्यक्रम बताएका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ देखि सुरु हुदै छ । यो दिवस विश्वभर अक्टोवर २५ देखि डिसेम्बर १० सम्म मनाउने चलन छ ।