निर्वाचन बिथोल्न खोज्ने जुनसुकैलाई प्रकाउ गरी जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

news

बुटवल, मंसिर ४
 
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिनु भएको छ । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको आज उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिनु भएको हो । पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर विष्फोटका घटना बढेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिनु भएको हो । उहाँले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।
सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागीता थियो । विप्लव समूहबाट विभिन्न निर्वाचन क्षेत्रमा बुथ कब्जा गर्ने प्रयास हुने सूचना आएको बताउँदै निर्वाचनलाई असर पुर्‍याउने जस्तो सुकै प्रयासलाई निस्तेज पार्नुपर्ने बताउनु भयो ।