निर्वाचन आयोगका र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच छलफल

बुटवल, मंसिर  ४-
निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोली र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव सहित अन्य आयुक्तसँग आज आसन्न निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहिता लगायतका विषयमा जानकारी आदानप्रदान भएको हो  । दुवै आयोगका तर्फबाट गरिएको निर्वाचन आकलन र तयारीका बारे छलफल हुनुका साथै मानव अधिकार आयोगको तर्फबाट आचारसंहिता उलंघन तथा चुनाव प्रचारप्रसारमा भए गरेका, देखेका र आकलन गरिएका विषयमा छलफल भएको थियो । आयोगका अध्यक्ष शर्माले निर्वाचनबारे मुख्य चासो र सरोकार रहेको विषय सुरक्षा अवस्था फितलो देखिएको जनाउँदै मतपत्रको संरचना हेर्दा आगामी निर्वाचनमा मत बदर हुने सम्भावना कम देखिए पनि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
 
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा भोटिङ मेसिनको प्रयोग गर्ने सिलसिलामा अनेकौँ सम्भावनाको अध्ययन भए पनि समयको चापका कारण नभ्याइएको बताउनुभयो ।