सुरक्षाका लागि प्रभावकारी कदम चाल्न जिल्ला प्रशासनलाई सरकारको निर्देशन

news

बुटवल,मंसिर ३-
चुनाव नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि प्रभावकारी रुपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका अनुसार आतंक बढाउने गतिविधि बढ्न थालेपछि चुनावलाई असर पुर्‍याउन सक्ने व्यक्तिको निगरानी राख्न र खोजतलास अभियानलाई तीव्र बनाउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएएको छ ।
विष्फोट र उम्मेदवार लक्षित आक्रमणको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानीमा राखिएको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ । उम्मेदवारलाई सुरक्षा दिने राज्यको जिम्मेवारी भएकाले चुनाव विरोधी गतिविधिमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो ।
सुरक्षाकर्मीले २४ सै घण्टा उच्च सतर्कता अपनाउने र उम्मेदवारले आफ्नो चुनावी कार्यक्रमबारे सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा जानकारी लिन दिन आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता दुवाडीले बताउनुभयो । अहिलेसम्म चुनाव विरोधी गतिविधिमा संलग्न झण्डै २ सयजना पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यस अघि हिजो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँ प्रेसर कुकुर वम प्रहार भएको थियो । तनहुको भानु १० नेपाल डाँडामा पौडेलको गाडीलाइ लक्षित गरेर कुकर बम प्रहार भएको हो ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोटमा जना घाइते भएका थियो । वाम गठबन्धनको भेला स्थल नजिकै सो विष्फोट गराइएको थियो ।  
त्यस्तै
ओखलढुङगामा कम्यूष्टि गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी हिजो बिहान बम विष्फोट भयो ।
आजै भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला नजिकै बम विस्फोट भएको छ ।
यता रुपन्देहीमा उम्मेदवारहरुको सुरक्षाका लागि जिल्ला प्रशसान कार्यालयले उच्च सुरक्षा सर्तकता अपनाएको छ । मुलुकको विभिन्न जिल्लामा उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम आक्रमण भइरहँदा उम्मेदवार तथा मतदान स्थल र मतदाताको सम्पुर्ण सुरक्षा व्यवस्थामा उच्च सर्तकता अपनाइउको प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जनाकारी दिनु भयो ।