सर्वोच्चको वैदेशिक रोजगार विभाग र प्रवर्द्धन बोर्डको नाममा निर्देशनात्मक आदेश

news

बुटवल, मंसिर २-
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन तथा त्यससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानमन्त्री र मन्त्रीपरिषदको कार्यालय, श्रम तथा रोजगार मन्त्रालयसहित अन्य सम्बन्धित मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाममा निर्देशनात्मक आदेश दिएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन भएपछि उनीहरुको शव नेपाल ल्याउन तथा मृतकका परिवारले पाउनु पर्ने आर्थिकसहितका राहत प्याकेज पाउन मुश्किल देखिएको भन्दै अदालतले तत्काल यसविषयमा संयन्त्र बनाएर काम गर्न आदेश दिएको छ । रोजगारीका लागि विदेशमा भएका नेपाली कामदारको निधनको कारण नखुलाई शव पठाइदिने क्रम बढेको र यसले मृतकका परिवारले पाउनु पर्ने अधिकार नपाएको भन्दै पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ लगायतले २०७३ फागुन २० गते रिट दायर गर्नुभएको थियो ।