भैरहवा मेलामा एकैदिन ३० हजार दर्शक

news

भैरहवा, मंसिर २- भैरहवाको अञ्चलपुरमा जारी चौथो  राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा  दर्शकको संख्या बढ्दै गएको आयोजकले जनाएका छन् ।

उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा बिहीबारदेखि शुरु भएको मेलाको तेस्रो दिन शनिबार तीस हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेका गेट किट व्यवस्थापन उपसमिति संयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।

मेलास्थलमा दर्शकको चाप बढी भएकाले दर्शकलाई सहज होस् भनेर बैंकरोड र अञ्चलपुरबाट पनि टिकट विक्रि गर्नुपरेको पाण्डेले बताए ।  शनिबार सार्वजनिक विदाको दिन भएको र हालका सर्वाधिक लोकप्रिय गायक ÷ कम्पोजर कालिप्रसाद बास्कोटालगायतका कलाकारको प्रस्तुति रहेकाले बिहानदेखि सांझसम्मै मेलामा दर्शकहरुको भीड रहेको थियो ।  शनिबारसम्म अन्दाजी पांच करोड रुपैयां बराबरको आर्थिक कारोबार भएको मेला आयोजक संस्थाका कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए ।

दर्शकको उत्साहजनक उपस्थितिले आयोजकहरु समेत उत्साहित भएका छन् । मेलामा शनिबार कालिप्रसाद बास्कोटासंगै लोक दोहोरी गायक शिरिष देवकोटालगायतका स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरन्जन दिलाए । यस्तै हास्यकलार बिर्खे बा र राशी रिजालले कमेडी र क्यारिकेचर प्रस्तुत गरे ।

भैरहवामा पहिलोपटक प्रस्तुतिका लागि आएका कालिप्रसाद बास्कोटासंग सेल्फी खिच्नका लागि युवा–युवतीको मेलास्थलमा भीड लागेको थियो ।

मेलाको चौथो दिन आइतबार आधुनिक गायक हिमाल सागर,लोक दोहोरी गायक रामजी खांण र हास्य कलाकार माइलाबाको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक बाबुराम शर्माले जानकारी दिए । यस्तै आइतबारदेखि महिला र पुरुष कुस्ती प्रतियोगिता शुरु हुने मेला सचिवालयले जनाएको छ । मंसिर ११ गतेसम्म चल्ने मेलामा उद्योग, ब्यापार,होटल÷रेष्टुरां,सूचना प्रविधि , अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा  प्रायोजकका गरी करिब  चारसय स्टल रहेका छन् । मेलाको  आकर्षणको रुपमा ड्रागनको मुखाकृतिको प्रवेशद्वारा, लोपोन्मुख राउटे जाति र उनीहरुको कला संस्कृति, डीजे नाइट, फेशन शो, जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता, भोजपुरी कलाकारको प्रस्तुति, लुम्बिनी दर्शन टुर प्याकेज, सेल्फी जोन, बाल उद्यान आदि रहेका छन् ।