नेपालको यु-१९ को यात्रा रोकियो

news

मंसिर १-नेपाल, मलेसियामा जारी एसीसी अण्डर १९ एसिया कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । आज भएको दोस्रो सेमिफाइनलमा चीर प्रतिद्धन्दी अफ्गानिस्तानसँग ७ विकेटले पराजित भएसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । समुहचरणमा बलियो प्रतिद्धन्दी भारत र आयोजक मलेसियालाई हराउदै सेमिफाइनलमा स्थान बनाएको नेपालका लागि अफगानिस्तान फेरि एक पटक ऐतिहासिक उपलब्धि हासिल गर्न तगारो बन्यो । उसको जितमा रहमानुल्लाह गुर्बाजले नटआउट ७१ र ईक्राम अलि खेईलले १८ रनको योगदान गरे । सन्दिप लामिछाने, कमलसिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए । यसअघि क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको अफगानिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल, २८ ओभरमा १ सय ३ रनमा समेटिएको थियो । लेग स्पिनर मुजिव अर रहमानले उत्कृष्ट बलिङ गर्दै अघिल्ला क्रमका ६ विकेट चट्काएपछि नेपाली ईनिङस् ध्वस्त भएको थियो । क्वाईस अहमद कामावालले ३ विकेट लिए । नेपालका लागि अनिल कुमार शाहले ५० रन बनाएपनि अन्य अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । अफगानिस्तानले उपाधिका लागि पर्सि आईतबार पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाईनलमा डकबर्थ लेबिस पद्धतीका आधारमा बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको थियो ।