बाम गठबन्धनमा युवाहरुले आफ्नो सपना देखेका छन : भुषाल

भैरहवा, ३० कार्तिक । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले बाम गठबन्धनमा नै युवाहरुले आफ्नो सपना देखेको बताएका छन । उनले युवाहरुले भविष्य देख्ने कुरा महत्वपूर्ण रहेकोमा जोड दिएका छन ।
 
युवा संघ नेपाल र योङ्ग कम्युनिष्ट लिगको संयुक्त भेलालाई भैरहवामा सम्बोधन गर्दै भुषालले युवाहरुलाई सुनौलो भविष्य देख्न नदिनका लागि एउटा शक्ति लागेकोले त्यसलाई परास्त गर्न युवाहरु एकजुट भइ बामगठबन्धनलाई नै जिताउनुपर्ने बताए । उनले युवाहरु कसम खाएर देशको निर्माणमा जुटने हो भने खासै चिन्ता मान्नुपर्ने विषय नरहेको औल्याए ।
 
भैरहवामा मण्डलेतन्त्रको अन्त्य भइसकेको तर त्यसका केही अवशेष बाँकी रहेकोले त्यसलाई सफा गर्न युवाहरु एकजुट हुनुपर्ने बताए ।
 
त्यस्तै भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ३ प्रदेशसभा १ का उम्मेदवार विश्वास बराल (अनुप)ले जनता माथि शासन गर्ने शक्तिहरुलाई परास्त गर्न युवाहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न बामपन्थीलाई जिताउन आवश्यक रहेकोमा जोड दिए ।
 
युवा संघ नेपालकी केन्द्रीय सदस्य सरिता श्रीसले लोकतान्त्रिक र बामगठबन्धनका उम्मेदवार बीच तुलना नै गर्न नमिल्ने बताइन । उनले कम्युनिष्ट पार्टी फुटेर होइन जुटेर अगाडी बढे मात्र मुलुक समृद्ध बन्ने बताइन ।
 
माओवादी केन्द्र सिद्धार्थनगरका सचिव तीर बहादुर रोकाय (डार्विन)ले इतिहासले कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा उभाएको बताए । उनले राष्ट्रको ढुकुटी रित्याउने र सामन्तवादको पक्षपोषण गर्ने उम्मेदवारलाई जनताले मत नदिने दावी गरे ।
 
वाइसिएल प्रदेश नं. ५ का फ्याक्सन इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) ले परिवर्तनको लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
 
युवा संघ नेपाल ५ नं. प्रदेशका सचिवालय सदस्य कुलेन्द्र पुनको स्वागत मन्तव्य तथा वाइसियल सिद्धार्थनगरका अध्यक्ष केशव कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।