पुनःनिर्माण प्राधिकरणद्धारा सहजीकरण गर्न निर्देशन

news

बुटवल, कार्तिक २७-
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केही स्थानीय तहले भूकम्पपीडितलाई अनुदान लिन जाँदा बनिसकेका घरको नक्साका विषयमा अप्ठेरो पार्ने गरेको जनाउँदै गुनासो सहजीकरण गर्न निर्देशन दिएको छ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरणले बोलाएको स्थानीय तहका प्रतिनिधि तथा सरोकार भएका निकायसहितको बैठकपछि सोे निर्देशन दिइएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बनिसकेका घरको नक्साका विषयमा स्थानीय तहबाटै सहजीकरण गरी फरफारकमा सघाउ पु¥याउन निर्देशन दिनुभयो ।

बैठकले निजी आवास निर्माणमा धेरै संख्यामा सिकर्मी तथा डकर्मी परिचालन गर्नुपर्ने देखिएकाले तालीम प्रदान गर्ने विभिन्न निकायसँग छलफल गरी आगामी पुस मसान्तभित्रै सबै तालीम सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका र कम प्रभावित १७ जिल्लामा लाभग्राहीको संख्याअनुसार पर्याप्त हुनेगरी प्राविधिक खटाउने व्यवस्था मिलाउन शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईलाई निर्देशन दिएको छ । प्राधिकरणले पुनःनिर्माणलाई तीव्रता दिन निर्देशन दिइरहे पनि निर्माणकर्मी, प्राविधिक, सरकारले दिने भनेको सहुलियत ऋण आदि पाउन कठिन भएका कारण काममा ढिलासुस्ती भएको छ ।