न्यू होराइजन स्पोर्टस् मिट शुरु

बुटवल,कार्तिक २७ - न्यू होराइजन बोर्डिङ हाई स्कूल  बुटवलको आयोजनामा स्पोर्ट्स मिट–२०७४ शुरु भएको छ । स्पोर्ट्स मिटको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले एन्फा टेक्निकल सेन्टर देवीनगरमा एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै गुरुङले शैक्षिक गुणस्तरमा देशमै अब्बल र अग्रणी  शैक्षिक संस्थाको पहिचान बनाउन सफल भएको न्यू होराइजनले खेलकुद क्षेत्रमा पनि सफलताच हासिल गर्दै जानुपर्ने सुझाव दिए ।

न्यू होराइजन संस्था व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू र संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले शैक्षिक गुणस्तरसंगै विद्यार्थीहरुको चौतर्फी विकासका लागि खेलकुद, संगीत जस्ता अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको बताए ।

सोमबारको उद्घाटन खेल छात्रा सिनियरतर्फ चार सय मिटर दौडबाट गरिएको थियो । जसमा करुणा खनाल प्रथम,रुपा राना दोस्रो र अंकिता बस्याल तेस्रो भइन् । उनीहरुलाई प्रमुख अतिथि  जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए । चार दिनसम्म चल्ने स्पोर्टस् मिटमा दौड,हाइजम्प,लङ जम्प,सटपुट,ज्याभलिन थ्रो,भलिबल,फुटबल,कबड्डी र विभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइने खेल संयोजक प्रकाश खनालले जानकारी दिए ।

स्पोर्टस् मिटमा विद्यालयका प्रि नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । कक्षा ४ सम्मका विद्यार्थी सहभागी खेलहरु  विद्यालयको देवीनगरस्थित आफ्नै खेल मैदानमा र ४ कक्षा माथिका विद्यार्थी खेल्ने खेलहरु  एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन हुने छन् । संस्थाका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता,प्राचार्य लोकनाथ उपाध्यायको स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख एवं खेल संयोजक प्रकाश खनालको संचालनमा उद्घाटन कार्यक्रम भएको थियो ।