चिनीको भन्सार महशुल नबढाउन माग

news

बुटवल, कार्तिक २३
स्वदेशमा पर्याप्त चिनी उत्पादन नहुँदा औद्योगिक क्षेत्रको माग पूरा नभएको भन्दै तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार महशुल नबढाउन पूर्वका बिस्कुट र कन्फेक्सनरी उद्योगका सञ्चालकले माग गरेका छन् ।  चिनी आयातमा सरकारले चिनी उद्योगहरुको आग्रह अनुसार भन्सार महशुल बृद्धि ५० प्रतिशत बनाउने तयारी गरेपछि उद्योगीहरुले यस्तो माग गरेका हुन् ।
भारत तथा तेस्रो मुलुकबाट आएको चिनीका कारण नेपालमा उत्पादन भएको चिनीले बजार नपाएको भन्दै चिनी उद्योगहरुले भन्सार महशुल बढाउन माग गरेका थिए । उनीहरुकै मागअनुसार कृषि मन्त्रालयले आयात महसुल बढाउन सिफारिस गरिसकेको छ । नेपालमा ब्राजिल, पाकिस्तान, बङ्गलादेश र थाइल्यान्डबाट चिनी आइरहेको भन्सार कार्यालयले जनाएको छ । चिनीको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिइने गरेको छ ।