अरेबियामा भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात

news

कात्तिक २१ – भ्रष्टाचार आरोपमा राजपरिवारका सदस्य, बहालवाला मन्त्री तथा अरु धेरै पूर्व मन्त्री पक्राउ गर्नु भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात मात्रै रहेको साउदी अरेबियाका महान्यायाधीवक्ताले बताउनुभएको छ ।
महान्यायाधीवक्ता शेख साउद अल मोजेबले एक वक्तव्य जारी गरी आइतबारदेखि सुरु भएको पक्राउ अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने अभियानको सुरुवात मात्रै रहेको बताउनुभएको हो । आफूहरु भ्रष्टाचारको मूख्य कारण नै अन्त्य गर्ने अभियानमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री तथा दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि रहेका छन् ।
भ्रष्टाचार विरुद्धको नयाँ कमिटिमा पक्राउ पूर्जी जारी गर्ने तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको अधिकार रहेको छ । यहिबिचमा राजा सलमानले राष्ट्रिय प्रहरी तथा जल सेनाका प्रमुख पनि परिवर्तन गर्नुभएको छ । यो अभियानलाई यु्वराज सलमानको अधिकार र शक्ति बढाउने अभियानको रुपमा पनि लिइएको छ ।
अहिले आफूहरु भ्रष्टाचार विरुद्धको अभियानको पहिलो चरणमा रहेको महान्यायाधीवक्ता अल मोजेबले बताउनुभएको छ ।