चिनियाँ टोली नेपालमा

बुटवल, कात्तिक २० -केरुङ–काठमाडौं रेलमार्ग अध्ययन तथा छलफलका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उप–पशासक झियान जियानको नेतृत्वमा २३ सदस्यीय टोली आज काठमाडौं आइपुगेको हो । दुई सरकारबीच भएको सम्झौताअनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको बताइएको छ ।
चिनियाँ उपमन्त्रीसमेत रहेका जियान नेतृत्वको टोलीले केरुङ, पोखरा र लुम्बिनी पुगेर रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्नेछ । भोलि केरुङ, बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने टोलीले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गर्नेछ । छलफल नेपालमा रेलमार्ग निर्माणका लागि चीन सरकारले गर्न सक्ने सहयोग र सम्भाव्यता अध्ययनका विषयमा केन्द्रित हुनेछ । चीन सरकारकै चासो र नेपाल सरकारको पहलमा भएको यो भ्रमणपछि रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने या नगर्ने भन्ने तय हुने र एजेण्डा तय हुने रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिनु भयो ।