निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा अध्यक्ष ओलीलाई

बुटवल
असोज,२४
नेकपा एमालेले निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी निर्वाचनमा होमिने निर्णय गरेको हो । विभिन्न जिल्लाबाट सिफारिश भएका उम्मेदवारीबारे छानबिन गरेर प्रकृया अघि बढाउने, चुनावी घोषणापत्र निर्माण र अन्य दलसँग सिट बाँडफाँडबारेको छलफललाई छिट्टै निश्कर्षमा पुर्‍याउने निर्णय बैठकले गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो । समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुङ्गो आगामी बिहीबार र शुक्रबार बस्ने स्थायी समिति बैठकले लगाउने नेता रावलले जानकारी दिनुभयो । एमाले स्थायी समिति बैठकले स्वदेश र प्रवासमा रहेका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्वाचन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेको छ । त्यस्तै हिजो राजधानीमा गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको प्रति एमालेले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । दोषी पत्ता लगाई तत्काल कारबाही थाल्न एमालेले सरकारसँग माग पनि गरेको छ ।