पोल्याण्ड आउँदो वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनौट

news

असोज २३ –पोल्याण्ड आउँदो वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ई’ मा रहेको पोल्याण्डले आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा मन्टेनेग्रोलाई ४–२ ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । ३२ देशको सहभागिता रहने विश्वकपमा छनौट हुने पोल्याण्ड १४ औं टिम हो । छैटौं मिनेटमा क्रिजिस्तोफ माजिन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाति अग्रता दिलाए । १६ औं मिनेटमा कामिल ग्रोसिस्कीले घरेलु टोलीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा स्टीफन मुगोसाले मन्टेनेग्रोका लागि एक गोल फर्काए । ८३ औं मिनेटमा मन्टेनेग्रोका जार्को तोमासेविकले बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेटपछि पोल्याण्डका रोबर्ट लेवानडोस्कीले गोल गर्दै फेरि अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मन्टेनेग्रोका फिलिप स्टोज्कोविकले आत्मघाती गोल गरेपछि पोल्याण्ड ४–० ले विजयी भयो । समूह ‘ई’ अन्तर्गत नै डेनमार्कले रोमानिया तथा अर्मेनियाले काजखस्तानसँग समान १–१ को बराबरी खेले । डेनमार्क समूहको दोस्रो स्थानमा रहँदै प्ले–अफमा स्थान बनाउन सफल भएको छ ।