एमालेद्धारा माओवादी केन्द्र र नयाँशक्तिसँग भएको चुनावी तालमेलको सहमति पालना गर्ने

news

 कांग्रेसका केही नेताले बामगठवन्धनलाई अधिनायकवाद तर्फ उन्मुख र लोकतन्त्रको खतरा भनेर गरेको टिप्पणीले आफुहरुलाई आश्चर्यचकित बनाएको ज्ञवालीको भनाई थियो । आश्विन २१, २०७४ नेकपा एमालेले माओवादी केन्द्र र नयाँशक्तिसँग गत मंगलबार भएको चुनावी तालमेलको सहमति अक्षरश: पालना गर्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको सो पार्टीको स्थायी समिति बैठकले चुनावी तालमेल तथा पार्टी एकताका लागि भएका सहमति अक्षरश: पालना गर्ने निर्णय गरेको हो । बैठकले पार्टी एकता संयोजन समिति, साझा घोषणा पत्र मस्यौदा कार्यदल र दलहरुबीच निर्वाचन क्षेत्र बाँडफाँड कार्यदललाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको पार्टी सचिव प्रदिप ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । एमालेले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा २०७० सालमा भएको संविधान सभा र स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्ने निर्णय गरेको छ । यी निर्वाचनको नतिजालाई आधार मानेर उम्मेदवार छनौट गर्दा गठवन्धनमा कुनै समस्या नहुने सचिव ज्ञवालीले बताउनुभयो । उहाँले बाम गठवन्धन कुनै दलप्रति लक्षित नरहेको भन्दै कोही पनि डराउन नपर्ने बताउनुभयो । कांग्रेसका केही नेताले बामगठवन्धनलाई अधिनायकवाद तर्फ उन्मुख र लोकतन्त्रको खतरा भनेर गरेको टिप्पणीले आफुहरुलाई आश्चर्यचकित बनाएको ज्ञवालीको भनाई थियो । यस्तै चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमालेका तर्फबाट प्रमुखमा कृष्णकुमार डल्लाकोटी र उपप्रमुखमा मुनाकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको ज्ञवालीले बताउनुभयो ।