राष्ट्रियताका नाममा मधेशमा कायम भ्रम चिर्न आवश्यक : प्रधानमन्त्री देउवा

news

श्रावण ६, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताका नाममा केही दलले तराई मधेशमा भ्रम फिँजाएको बताउँदै त्यसलाई चिर्न आवश्यक रहेको बताउनु भएको छ ।

असोज दुई गतेका लागि तय निर्वाचनको तयारीका लागि भन्दै राजधानीमा जारी कांग्रेसको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले त्यसका लागि पार्टीको जित आवश्यक रहेको बताउनुभयो । मधेशी जनताको अधिकारका लागि लामो समयदेखि लड्ने एकमात्र पार्टी कांग्रेस रहेको दावी गर्दै देउवाले पार्टीको एजेण्डालाई जनतासम्म पुर्‍याउन एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । मधेशी जनताको भावना सम्बोधनका लागि सरकार संविधान संशोधन विधेयक पारित गराउन लागि परेको जानकारी दिदै प्रधानमन्त्री देउवाले यसअघि भएका दुई चरणका निर्वाचनमा दोस्रो दल बनेको भरपाई असोज दुई गतेको निर्वाचनबाट गराउन आवश्यक रहेको बताउनुभयो । पार्टीले चयन गरेका उम्मेद्वारलाई सक्दो सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै उहाँले उम्मेद्वार पराजित भए सिंगो पार्टीको हार हुने तर्क गर्नुभयो । मतदानको एक महिना अघि नै उम्मेद्वार चयन गर्ने आश्वासन दिदै सभापति देउवाले अन्तर्घातका कारण पार्टी दुई नम्बर प्रदेशका कुनै पनि स्थानीय तहमा पराजित हुने अवस्थाको सृजना नगर्न आग्रह गर्नुभयो ।