नवलपरासी र रुकुम अन्योलमा

बुटवल, साउन ५-
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन भइसकेका सबै जिल्लामा जिल्ला समन्वय समिति जिसस को निर्वाचन प्रक्रिया बढाइसके पनि नवलपरासी  र रुकुमबारे निर्णय हुन सकेको छैन । यी दुई जिल्लाका स्थानीय तह दुईवटा प्रदेशमा विभाजित रहेकाले त्यहाँका जिसस कसरी गठन गर्ने भन्नेमा आयोग नै अन्योलमा छ ।
आयोगले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा साउन २ र दोस्रो चरणका जिल्लामा बुधबार जिसस निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने निर्णय लिएको छ । निर्वाचन भइसके पनि रुकुम र नवलपरासीमा भने निर्वाचन अधिकृत तोकिएको छैन । निर्वाचन अधिकृत तोक्ने दुवै पटकका निर्णयमा आयोगले ‘रुकुम र नवलपरासीबाहेक’ उल्लेख गरेको छ ।