नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता

news

बुटवल, साउन ५-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्तरुप लिने भएको छ। साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति, फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी गरेको छ । आर्यरखस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर, भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाड गर्ने सहमतिमा पुगिनसकेको जिकिर गरेका छन् ।