शर्मामाथिको मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठायो

news

बुटवल, साउन ४-
आन्तरिक राजश्व बिभागका निलम्बित महानिर्देशक चुणामणी शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउने भएको छ ।
६ दिन लामो बहस आज सकिएपछि सर्वोच्चले शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर रिटमाथि पूर्ण इजलासमा सुनुवाई गर्ने भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना उप्रेतीले बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट दायर गर्नुभएको थियो । यस्तै सर्वोच्चले शर्मासहित तीन जनाबिरुद्ध बिशेष अदालतमा दायर भ्रष्टचारसम्बन्धी मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ । अख्तियारले कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित आयोगका सदस्य सचिव समेत रहेका शर्माबिरुद्ध बिशेष अदालतमा गत आइतवार भ्रष्टचार मुद्दा दर्ता गरेको थियो । पूर्ण इजलाशबाट फैसला नआएसम्म सो मुद्दामाथि थप सुनुवाई तथा आदेश नदिन सर्वोच्च अदालतले बिशेष अदालतलाई भनेको हो । सर्वोच्चको निर्णयपछि शर्मा भने अख्तियारकै नियन्त्रणमा रहने भएका छन् ।