सुत्केरी भत्ता बढाउने इस्मा गाउँपालिकाको पहिलो निर्णय

news

गुल्मी, असार २४ – इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले पदभार ग्रहण गरेपछि बसेको गाउँपालिकाको पहिलो बैठकले सुत्केरीका लागि भत्ता थप्ने निर्णय गरेको छ । गाउँपालिकाकाले सुत्केरीको भत्ता एक हजार बढाउने निर्णय गरेको हो ।

निर्णयपछि सुत्केरीले भत्ता वापत दुई हजार रुपैयाँ बुझ्ने भएका छन् । यसअघि सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत एक हजार र नियमित चेकजाँच गराएमा चार सय गरी चौध सय रुपैयाँ दिँदै आएको थियो ।

एक महिला दुई सन्तानको अवधारणा अनुसार निर्णय दुई पटक सुत्केरी हुँदासम्म लागु हुने छ । त्यस्तै बैठकले गाउँपालिकाका सडक सञ्जाल बाहै्र महिना सञ्चालनमा ल्याउने निर्णय गरेको गाउँपालिकाका कार्यकारी निर्देशक सरोज पोख्रेलले बताउनु भएको छ । त्यसको लागि सडकहरुमा लेन्थ वर्करको व्यवस्था मिलाइने पोख्रेलले बताउनु भयो ।

वर्षाको समय भएकाले वडा कार्यालयबाट बिपत व्यवस्थापनका सामग्री तयार गर्ने र सम्भावित जोखिमबाट बच्न जनचेतना फैलाउने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले इस्मा गाउँपालिकाको चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण राजनैतिक दल, निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिकाको कार्यालय, सुरक्षा निकाय, पत्रकार, स्थानीय सरोकारवाला, सामाजिक संघसंस्थालाई धन्यबाद दिएको छ ।

इस्मा गाउँपालिकाको प्रमुखको पदभार ग्रहण गर्दै अध्यक्ष विष्टले समृद्ध र नमुना गाउँपालिका बनाउने आफ्नो सपना रहेको भन्दै त्यसका लागि एक घर एक धारा, स्वच्छ खानेपानी, प्रत्येक बस्तिमा सडक सञ्जाल, कृषीमा आधुनिकीकरणगरि युवा स्वरोजगार, सबै खाले अपाङ्गलाई राहतका कार्यक्रम, बृद्व बृद्धालाई सम्मान, लगायतका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनु भएको छ ।