उत्तर कोरियामाथि सैन्य आक्रमण गर्ने अमेरिकी चेतावनी

news

असार २२ – अमेरिकाले उत्तर कोरियामाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले मंगलबार अन्तरमहादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । आवश्यक परेमा उत्तर कोरियाको गतिविधि विरुद्ध सैन्य कारवाही गर्न सकिने अमेरिकाले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलले अमेरिकाले उत्तर कोरियाका कारण उत्पन्न भएको खतराबाट आफ्नो देशको रक्षाका लागि तयारी गरेको बताउनुभयो । उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश गरिने पनि उहाँले बताउनुभएको छ ।